गोरखा २१ फागुन । नेकपा माओबादी केन्द्रका गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष लेखबहादुर थापाले एमसिसी प्रकरण बुझाइमा एक रुपताको अभावले पार्टी भित्र केही अन्तरबिरोध देखा परेको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल गोरखाको जिल्ला समितिको बिहिबार बसेको बैठकलाई सम्बोधन गर्नुहुदै अध्यक्ष थापाले राष्ट्र र जनतालाई केन्द्रमा राखेर पार्टीले ठोस परिस्थितीमा ठोस निर्णय लिएको भएपनि बुझाईमा एक रुपमा ल्याउन नसक्दा समस्या भएको बताउनुभयो ।
‘हाम्रो पार्टीको कुरा एमसिसीलाई यथास्थितीमा पास गर्नुहुदैन भन्ने थियो, अध्यक्ष थापामगरले भन्नुभयो, तर पास नै गर्न हुदैन भनिएको थिएन ।’ जस्ताको तस्तै पास गर्दा राष्ट्रहित बिपरित हुन्छ भन्ने अडानमा पार्टीमा दृढताका उभिएको भन्दै उहाँले त्यस्ता बुदाँहरुलाई व्याख्यात्मक टिप्पणी गरी देशको स्पस्ट धारणा संसदबाट पारित गरेको बताउनुभयो । अध्यक्ष थापामगरले माओबादीको दबाबमा संसदमा व्याख्यात्मक टिप्पणी गरी पारित गरेको सम्झौता अमेरिकाले समेत स्विकार गरेको भन्दै त्यसले नेपाल र नेपाली जनताको सार्वभौम अधिकारको रक्षा गरेको बताउनुभयो । एमसिसी प्रकरणमा पार्टीमा भएका केही अस्पस्ट बुझाई बिस्तारै बुझ्दै गएको उहाँको दावी छ ।
‘माओबादीकै पहलमा राष्ट्रघात हुन दिएनौ, अध्यक्ष थापामगरले भन्नुभयो, अमेरिकाले समेत स्विकार गरेपछि अफ्टयारो मान्नुपर्ने र हिनताबोध गर्नुपर्ने अबस्था छैन यसले बरु बिश्व राजनीतिमा हामीले हाम्रो शिर उचो पार्न सफल भएका छौ ।’ उहाँले अब पार्टीलाई एकिकृत गर्दैै बुझाईमा समेत एक रुपता कायम गरेर अघि बढ्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिनुभयो । ‘पार्टीमा छलफल र बहस आबश्यक छ, अध्यक्ष थापामगरले भन्नुभयो, कुनै एउटा बिषयमा बिबाद र बहस हुदैमा सवै सकियो भन्ने ठान्नुपनि हुदैन ।’
अर्को फरक प्रसंगमा उहाँले निर्वाचन आयोगले मतदाता नामावली हराएकाहरुको परिचय पत्रका लागी पुनः जिल्ला निर्वाचन कार्यलयमा पुगेर निवेदन दिनुपर्ने आयोगको निर्णय व्यवहारिक नभएको बताउनुभयो ।