बाजुरा, १३ फागुन । हत्या गरी भागेको १६ बर्षपछि अभियुक्त पक्राउ परेका छन् । बाजुराको त्रिबेणी नगरपालिका कालापानी निवासी अभियुक्त भरत गिरीलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका गिरीले प्रभु गिरी भनिने नवराज गिरीको बीभत्स हत्या गरी भरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।
अभियुक्त गिरीले सहोदर काकाकी छोरी बहिनीसँग अनैतिक सम्बन्ध राखेको अवस्थामा नवराज भन्ने प्रभु गिरीले रंगेहात भेटेपश्चात् नवराजलाई मार्ने योजना बनाएर हत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । साविकको कैलाशमाण्डौ गाविस–६ हाल त्रिबेणी नगरपालिका–७ निवासी भरत गिरी लगायत ९ जनाले २०६३ माघ ४ गते साँझ भाला, खुँडा, ढुंगा र धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
‘साँझ ७ बजेतिर देवरलाई पुकार खान तल पसलतिर जाउँ भनेर लगे’, मृतक गिरीकी भाउजू तारा गिरी भन्नुहुन्छ– ‘पछाडिबाट ढुंगामुडा, हँसिया, साइकलका चेन, भाला प्रयोग गरी लखेटी–लखेटी हत्या गरेका थिए । हामीले न्याय पाउने आस मारिसकेका थियौं । तर, प्रहरीले हत्यारा प्रक्राउ गर्न सफल भएकोमा खुसी भएका छौं ।’
देवरको हत्यापश्चात् आफूहरूलाई पनि मार्ने धम्की आएको उहाँको कथन छ । अहिले पनि गाउँ शान्त छैन, छोराको वियोगमा सासूको पनि ४५ वर्षको उमेरमा २०६५ सालमा निधन भएको थियो । ‘२५ जनाको संलग्नता रहेछ’, तारा भन्नुहुन्छ– ‘त्यति बेला हामीले ९ जनाको मात्र किटानीजाहेरी गरेका थियौं, अपराधीको मुख्य नाइके भने अहिले फेला प¥यो ।’ नौ जनाले कैद सजाय भोगेर थुनुवा मुक्त भइसकेका छन् ।
जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यस्तै, पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्मकैदको फैसला ठहर गरेको थियो ।
गिरीको हत्याका प्रमुख योजनाकार भरतलाई भारतको उत्तराखण्ड स्थित अल्मोडा जिल्लाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक चतुुर्भुज ओझाले पत्रकार सम्मेलनमा बताउनुभयो । फरार अभियुक्त गिरीले आफ्नो नेपाली परिचयपत्र नखुल्ने गरी २०६३ सालदेखि भारतका विभिन्न शहरमा बस्दै आएको खुलेको छ । नेपाल प्रहरीको अथक प्रयास, इन्टरपोल र भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।