भूम्लिचोक ,११ फागुन । गोरखाको गण्डकी गाउँपालिका ६ भूम्लिचोकमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकीको एक कार्यक्रममा बिच गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले आज उद्घाटन गर्नुभएको हो । सो अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आवश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्ष लगायत सम्पूर्णमा धन्यवाद दिनुभयो ।
उहाँले भुम्लिचोक प्रहरी चौकीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई जनताका सुरक्षाका साथै आवश्यक अन्य सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ प्रमुख जिल्ला अधिकारी आचार्यले प्रहरीहरुलाई प्रभाव, दबाब र रवाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो । साथै गाउँपालिका भित्रका अध्यक्ष,वडाअध्यक्ष र जनप्रतिनिधिहरुसंग आवश्यक समन्वय गरि काम गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा गण्डकी गाउँपालिकाका होम बहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न आग्रह गर्नुभयो । प्रहरी चौकी स्थापनाको लागि आबश्यक सहयोग र समन्वय गर्नु हुने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जग्गादाताहरुमा बिशेष धन्यबाद दिनुभयो ।
गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगर अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारी,राजनीतिक दलका प्रतिनिधि गण्डकी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत सर्बसाधारण जनसमुदायको उपस्थिति रहेको प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।