गोरखा, २१ माघ : गोरखामा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ३, स्थित सिस्नेरी भिरबाट लडेर ३३ बर्षिय शिक्षक सुशिल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
लम्जुङको बिचौरमा रहेको एक बिधालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक अधिकारी बिहिबार राती अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अबस्थामा भेटिएको उहाँले बताउनुभयो । भच्चेक बजारमा सामान खरिद गरेर बिचौर स्थित डेरा तर्फ जाँदै गएका अधिकारी एक्कासी बेपत्ता हुनुभएको थियो ।
सिस्नेरी भिरबाट लडेर करिब १५० मिटर तल रहेको चेपे नदी किनारमा अधिकारीको शव फेला परेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो । सामान किनेर आफैले बोकेर बिचौर तर्फ गएका अधिकारीको सामान समेत भिर छरप्रष्ट अबस्थामा फेला परेको उहाँको भनाई छ । भिरको बिचमा ज्याकेट समेत फेला परेको भच्चेक प्रहरी चौकीले जनाएको छ ।
शिक्षक अधिकारीको शव अहिले पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । मृतक अधिकारी बिचौरमा नै कोठा गरेर श्रीमती संग बस्दै आउनु भएको थियो ।