गोरखा २९, पुस । मालपोत कार्यालयले चलाउदै आएको सफ्वयरमा समस्या आउदा सेवाग्राही मर्कामा परेका छन् । बुधबारदेखी सफ्वयरमा समस्या आएको जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख मालपोत अधिकृतले जानकारी दिनुभयो ।
कार्यालय बाहिर लेखन्दासहरुले चलाउने पिएएम (पाम) र कार्यालयले चलाउने आन्तरिक एलआरआईएनएसमा एकै पटक समस्या आएकोले दैनिक रुपमा सेवाग्राहीलाई दिने सेवामा प्रभाव परेको मालपोत कार्यालय गोरखाले जनाएको छ । ‘देशको सबै मालपोत कार्यायलमा समस्या आएको छ,प्रमुख मालपोत अधिकृत बासुदेव खत्रीवडाले भन्नुभयो, हामीले बुधबार ८–१० जनालाई भन्दा सेवा दिन सकेनौ ।
प्रमुख खत्रीवडाका अनुसार लेखन्दासले चलाउने र कार्यालयले चलाउने दुवै सफ्वयरमा बुधबार बिहानैदेखी समस्या आए पछि केन्द्रमा जानकारी गराईएको छ । चल्दै नचलेको भने होइन तर निकै ढिला काम हुदा सेवा ग्राहीलाई सेवा दिन समस्या भएको छ, प्रमुख मालपोत अधिकृत खत्रीवडाले जानकारी दिनुभयो ।
कार्यालयले दिने सेवा अन्तरर्गत नामसारी, पूर्जा प्रतिलिपी, हालैको बकसपत्र, शेष पछिको बकसपत्र तथा राजिनामा दैनिक जसो ३० देखी ४० जना सेवा ग्राहीले लिने गरेकोमा बुधबार समस्या आएपछि १० जना भन्दा बढीलाई दिन नसकिएको कार्यालयले जनाएको छ । यो समस्या केही दिन रहन सक्ने भन्दै भूमि ब्यवस्थापन तथा अभिलेख विभाग बबरमलले सूचना नै जारी गर्दै सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमायाचना गरेको छ ।