गोरखा, १४ पुष । गोरखामा गएराती देखि परेको पानी र हिमपातका कारण जनजिवन प्रभावित भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण जिल्लाको तल्लो भेगमा पानी परेको छ भने माथिल्लो भेगमा हिमपात भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । चुमनुब्री गाउँपालिकाको धेरैजसो ठाउँमा हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने छ । वर्षासँगै चिसाले जनजीवन प्रभावित बनाएको छ ।
यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।