गोरखा, २४ मङ्सिर : अबैध जडीबुटी ओसारपसारमा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, माछाखोला क्षेत्रबाट प्रहरीले अबैध रुपमा बिक्रीका लागि लैजादै गरेको कुटकी जातको जडीबुटी सहित चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका ग्याल्जेन लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
पक्राउ परेका लामाले करिब ५५३ केजी कुटकी अबैध रुपमा बिक्रीका लागि काठमाण्डौ तर्फ लैजादै गरेको अबस्थामा माछाखोला प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको उहाँले बताउनुभयो । उत्तरी गोरखाको बिभिन्न क्षेत्रबाट संकलन गरी बिक्रिका लाागी ३२ वटा बोरामा राखेर राजाधानी तर्फ लैजादै गर्दा कुटकी सहित लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मनास्लु संरक्षण क्षेत्रबाट संकलनको अनुमती लिएका लामाले बिक्रीका लागी छुट पुर्जी नलिएका कारण पक्राउ गर्नुपरेको डिएसपी दाहालको भनाई छ ।
पक्राउ परेको कुटकी र लामालाई आज नै डिभिजन बन कार्यालयमा बुझाईएको डिएसपी दाहालले जानकारी दिनुभयो । यता डिभिजन बन कार्यालयका सहायक बन अधिकृत होमबहादुर बल्छौडीका अनुसार मनास्लु संरक्षण क्षेत्र भित्रको क्षेत्राधिकार भएकोले बरामद सामाग्री र लामालाई संरक्षण क्षेत्रमा नै पठाउन लागिएको जानकारी बताउनुभयो । अधिकृत बल्छौडीका अनुसार पक्राउ परेका लामासंग संकलनका लागी संरक्षण क्षेत्रलाई तिरेको राजश्वको रसिद र छुट पूर्जीका लागी सिफारिस समेत भएकोले अनुसन्धानका लागी संरक्षण क्षेत्रलाई बुझाउन लागिएको बताउनुभयो ।
यता मनास्लु संरक्षण क्षेत्रका संरक्षण अधिकृत पशुपती अधिकारीले डिभिजन बन कार्यालयको क्षेत्राधिकार भित्र पक्राउ परेका कारण डिभिजन बन कार्यालयले नै कारवाही गर्नुपर्ने बताउनुभयो । ‘मैले पनि पक्राउ परेको सुनेको छु, हामीकहाँ आई पुगेको छैन, उहाँले भन्नुभयो,‘ आएपछि अनुसन्धान गरेर मात्र के गर्ने भन्न सकिन्छ ।’ अधिकृत अधिकारीका अनुसार यस्ता मुद्वामा नेताहरुको अनावश्यक दवाव आउने हुनाले डिभिजन बन कार्यालयले संरक्षण क्षेत्रलाई सुम्पन लागेको आरोप समेत लगाउनुभयो ।