गोरखा, २४, मङ्सिर: गोरखामा करिब ५० करोड रुपैयाको लागतमा सुबिधा सम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकाम स्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तिनतारे स्तरको सुबिधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीहरुको संयुक्त लगानीमा रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधा सम्पन्न र स्तरीय होटल हो । होटलमा सेमिनार तथा कार्यक्रमहरु आयोजना गर्न लागि सुबिधा सम्पन्न ४ वटा हल समेत निर्माण गरिएको उहाँले बताउनुभयो । ‘होटल भित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ, अध्यक्ष पौडेलले भन्नुभयो, जिल्लाको पर्यटकिय क्षेत्रको प्रर्बद्धनका लागि समेत टेवा पु¥याउने उद्देस्यले हलको नाम समेत पर्यटकिय स्थलको नामबाट नामाकरण गरिएको हो ।’

त्यस्तै होटलमा सुबिधासम्म ४६ वटा स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । ‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर २ वटा स्विट रुम, १० वटा सुपर डिलक्स ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौ’ उहाँले भन्नुभयो, ‘ग्राहककै सुविधाका लागी होटलको छैठौं तलामा बच्चा र बयस्कहरुका लागि सबिधा सम्पन्न पौडी पोखरी समेत निर्माण गरिएको छ ।’
होटलमा बस्न आउनेहरुले स्वादिष्ट, तथा स्थानीय उत्पादन भएका अर्गानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाई छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पौष महिना भित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाई छ ।
होटलमा एकैपटकमा ६ सय जनासम्मको सहभागिताका कार्यक्रम समेत गर्न सकिने सञ्चालक देवकोटाले बताउनुभयो । होटलमा सवै गरी कुल १ सय १५ बेड क्षमता रहेको उहाँले जानकारी दिनुभयो । झण्डै ८० जनाको लगानी रहेको होटलमा चितवनका ६० व्यवसायीको ६० प्रतिसत र गोरखाका व्यवसायीको ६० प्रतिसत लगानी रहेको सञ्चालक बद्रीबहादुर मास्केले जानकारी दिनुभयो । होटल सञ्चालनमा आएसंगै आउदो असार मसान्तसम्म ग्राहकहरुको आर्कषणका लागि होटलले २५ प्रतिसत छुटको व्यवस्था समेत गरेको छ ।