गोरखा, २४ मङ्सिर । लैङ्गिक हिंसा सम्वन्धी १६ दिने अभियान अन्तरर्गत गोरखाको बुंकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा शहिद लखन गाउँपालिका ८ को बुंकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त गरौं’ भन्ने नारा सहित सम्पन्न भएको कार्यक्रममा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले अन्तरक्रिया कार्यक्रमले समाजमा हुने लैङ्गिक हिंसाको बारेमा थप चेतना जगाउन सफल भएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले समाजमा अहिले सबै भन्दा धेरै महिलाद्वारा पुरुष पिडित हुने गरेको भन्दै बिद्यमान परिभाषा परिवर्तन गर्न र सोही अनुसार कानून निर्माणमा लाग्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
शहिद लखन गाउँपालिका ७ को समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक हिमनाथ घिमिरेले लैङ्गिको हिंसा के लाई भनिन्छ र कानूनी उपचार कसरी लिन सकिन्छ भन्ने बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ (कैलाश) लगायतको सहभागिता रहेको थियो ।