गोरखा, १५ मंसिर । गोरखा सदरमुकामको बिरेनचोक क्षेत्रमा आज भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । गोरखा बजार देखी आँबुखैरेनी तर्फ जादै गरेको ग. १३ प ६३९ नम्बरको मोटरसाईकल र आँबुखैरेनी देखी गोरखा बजार तर्फ आउदै गरेको बा. २ ख ८७९१ नम्बरको हायस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका ६ का नरेश कार्की र उहाँका श्रीमती ज्योति कार्की घाईते हुनुभएको हो । तिब्र गतिमा गएको मोटरसाईकल विपरीत दिशाबाट आएको हायसलाई ठक्कर दिन खोज्दा हायसले मोटरसाईकल जोगाउन खोज्दा पछाडीको भागमा हायसको क्षती भएको ट्राफिक प्रहरीको भनाई छ ।
दुर्घटनामा परी घाईते भएका दुवै जना अहिले सामान्य उपचार पछि चितवन पठाईएको छ । दुवै जनाको सिटी स्क्यान गर्न चितवन पठाईएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका क्रममा हायसलाई जोगाउन खोज्दा नजिकै रहेको टिप्परमा पनि सामान्य क्षति भएको छ ।