विराटनगर, १०, मंसिर । अस्पतालमा उपचार गरिरहेका बिरामीले आत्महत्याको प्रयास गरेका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । शुक्रबार बिहान ६:०० बजे मोरङको धनपालथान गाउँपालिका १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको ३ तला माथिबाट हामफालेर आत्महत्याको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ ।
मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको अहिले पनि सोही अस्पतालमा उपचार भईरहेको छ ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार छारे रोगका मण्डललाई आइसियूमा राखेर अस्पतालले उहाँको उपचार गरेको थियो ।
उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा मण्डललाई परिवारले घर लैजान नसक्दा उहाँले आत्माहत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उहाँलाई अस्पतालमा कुर्न बसेका सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाट हामफालेका थिए । अस्पताल प्रशासनका अनुसार मण्डलको उपचारमा ३६ हजार रूपैयाँ खर्च भएको छ ।