बुटवल ८, मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा परी निधन भएको छ । बन्जाडे दाङबाट बुटवल तर्फ आउदै गर्दा मंगलबार राति ८: ०० बजे सवारी दुर्घटनामा परेका थिए । उहाँ सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिनुभयो । दाङमा भएको एक कार्यक्रममा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दुर्घटनामा पर्नुभएको थियो ।
सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुनुहुन्थ्यो । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।