गोरखा, २२ कात्तिक । गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका फोहोर व्यवस्थापन गर्ने जिम्मा नीजि क्षेत्रलाई दिएको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका फोहोर संकलन गर्ने र त्यसको व्यवस्थापन गर्ने लगायतका सवै जिम्मेवारी क्लिन गोरखा प्रा.लि नाम नीजि क्षेत्रलाई दिएको नगरपालिकाका वातावरण अधिकृत ध्रुब घिमिरेले जानकारी दिनुभयो ।
नगरबासीहरुले नगरक्षेत्र भित्रका फोहोर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाई रहेका बेला प्रा.लिसंग सम्झौता गरी मंगलबारदेखि फोहोर उठाउने सवै जिम्मेवारी दिएको उहाँले बताउनुभयो । ‘अबदेखि नगरपालिका भित्रका १४ वटै वडाको फोहोर संकलन गर्ने काम प्रा.लिले गर्छं, उहाँले भन्नुभयो, प्रा.लिले नै नगरबासीहरुसंग फोहोर व्यवस्थापनको शुल्क लिनेछ ।’
प्रा.लिले नगरपालिकामा रु २ लाख रुपैया धरौटी राखेर फोहोर संकलनको काम सुरु गरिसकेको अधिकृत घिमिरेले जानकारी दिनुभयो । ‘अहिले सम्झौता अनुसार धरौटी रकम राखेर प्रा.लिले काम सुरु गरिसकेको छ, उहाँले भन्नुभयो, ‘सम्झौता लागू भएको ६ महिनासम्म नगरपालिका हाल नगरपालिकामा कार्यरत सरसफाईमा खटिदै आएका ७ जना कर्मचारीलाई प्रा.लि र नगरपालिकाले आधा÷आधा तलब खुवाउने र पछि प्रा.लिले नै तलब खुवाउनु पर्नेछ ।’
गरपालिकाले प्रयोग गर्दै आएको फोहोर उठाउने एउटा ट्याक्टर र टिप्पर समेत एक बर्षका लागि प्रा.लिलाई प्रयोग गर्न दिने र एक बर्षपछि भने प्रा.लिले नगरपालिकाले निर्धारण गरे अनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उहाँले बताउनुभयो । प्रा.लिले नगरपालिकाको मापदण्ड भित्र नै रहेर नगरबासीहरु फोहोर व्यवस्थापनका लागी शुल्क लिने अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रा.लिसंग ५ बर्षका लागि नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने दिने गरी सम्झौता गरेको उहाँले बताउनुभयो ।
नगरबासीसंग फोहोर संकलन बापतको शुल्क उठाउन प्रालिलाई नगरपालिकाले रसिद प्रमाणित गरिदिन्छ, अधिकृत घिमिरेले भन्नुभयो, ‘त्यही रसिद मार्फत भुक्तानी लिने र संकलन भएको रकमको २० प्रतिसत प्रत्येक चौमासिकमा नगरपालिकामा बुझाउनु पर्ने गरि सम्झौता भएको छ ।’
प्रा.लिले फोहोर व्यवस्थापनका काम सुरु गरेसंगै नगरक्षेत्रलाई सरसफाईमा नेपालको उत्कृष्ठ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । प्रा.लिले आफ्नो घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्याई कर्मचारीलाई सहयोग गरिदिनु पनि नगरबासीहलाई अनुरोध गरेको छ । फोहोर व्यवस्थापन शुल्क बापत नगरबासीले सदस्यता शुल्क रु २ सय तिर्नुपर्ने र नीजि तथा व्यक्तिगत प्रयोजनको घर÷ प्रति परिवार मासिक १ सय, चिया पसल फुटफाथ पसलले रु १५०, व्यवसायिक पसलहरु प्रत्येक सटर, बित्तिय संघसंस्थाले २ सय, रेष्टुरेन्ट, मासु, तरकारी, फलफुल पसल, सैलुन, व्युटीपार्लरले रु ३ सय शुल्क बुझाउनु पर्ने जनाएको छ ।
त्यस बाहेक मोटरसाईकल ग्यारेज, लज सहितको सामान्य होटल, क्लिनिकको समान्य फोहोर भएकाहरुले मासिक ५ सय, गाडी ग्यारेज, लज सहितको ठूला होटलले मासिक १ हजार र हस्पिटल, नर्सिङहोमहरुले मासिक २ हजार शुल्क बुझाउनु पर्ने उल्लेख गरेको छ । घरबाट निस्कने कवाडी सामग्री समेत उचित मूल्य दिएर प्रा.लिले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्रि बितरण नगर्न समेत आग्रह गरेको छ । यस अघि नगरपालिका आफैले नगरक्षेत्र भित्रको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।