नविन घिमिरे
गोरखा, २३ कात्तिक । गोरखा नगरपालिका वडा नम्बर १०, बिरेन्चोकको एक घर फोडेर घर चोरी भएको छ । मंगलबार दिउँसो करिब १ बजेको समयमा स्थानीयबासी भीमबहादुर खनालको घरको ताला फोडेर चोरी गरेको हो । घरमा कोही पनि नभएको समयमा ताला फोडेर घर भित्र रहेको सुन, चाँदी र नगद समेत चोरी गरेको घरधनी देवीमाया खनालले जानकारी दिनुभयो ।
‘म धान काट्नका लागि मेला गएको थिए, उहाँले भन्नुभयो, श्रीमान पनि अफिस गएका बेला अज्ञात व्यक्तिले घरमा लगाएको ताला फोडेर चोरी गरेको हो ।’ घरमा रहेको करिब १ तोला सुन, ४ तोला चाँदी र ५० हजार नगद चोरी भएको उहाँले बताउनुभयो ।
बेलुकी घर फर्किएपछि ताला फोडिएको देखेपछि घटनाको बारेमा प्रहरीलाई जानकारी गराएको खनालले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।