गोरखा ११, कात्तिक । गोरखा जिल्लामा राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सम्पन्न भएको छ । जिल्लामा ११ वटै स्थानीय तहमा यही भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सम्पन्न भएको तथ्याङ कार्यालय गोरखाका महेशप्रसाद ढुङगानाले जानकारी दिनुभयो । जिल्लामा घर परिवार सूचीकरणका लागि ९८ जना सुपरीबेक्षक खटिएका थिए ।
घर परिवार सूचीकरणमा खटिएका सुपरीबेक्षकहरुले जिल्ला भित्र कृषिको लगत, घर परिवार सूचीकरण, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्रबिधिक शिक्षा लिए नलिएको, बैंङ संग ऋण लिए नलिएको बारेमा तथ्याङक संकलन गरिएको उहाँले बताउनुभयो । कार्यालय निकालेको प्रारम्भिक तथ्याङ अनुसार जिल्लामा कुल करिब ८५ हजार घर रहेको पाइएको कार्यालय प्रमुख ढुङगानाले जानकारी दिनुभयो ।
त्यस्तै त्यस मध्ये करिब ६६ हजार घरमा मानिस बसेको पाइएको छ भने जिल्लामा परिवारको संख्या करिब ७१ हजार रहेको प्रारम्भिक तथ्याङक प्राप्त भएको उहाँले बताउनुभयो । जनगणना अन्र्तगत अन्तिम चरणमा यही कात्तिक १३ गतेदेखि १६ गतेसम्म जिल्ला भित्र जनगणनामा खटिने ४०२ जना गणकलाई अभिमुखीकरण तालिम प्रदान गर्ने प्रमुख ढुङगानाले जानकारी दिनुभयो ।
तालिम सम्पन्न गरेका गणकहरु यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाका लागि जिल्ला भित्रका स्थानीय तहमा खटिनेछन् । जिल्ला भित्र ५ वटा केन्द्र निर्माण गरेर जनगणना हुने उहाँले बताउनुभयो । जसअन्र्तगत गोरखा नगरपालिका केन्द्रबाट गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका, आरुघाट केन्द्रबाट आरुघाट गाउँपालिका र चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिका, अजिरकोट केन्द्रबाट अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका, पालुङटार केन्द्रबाट पालुङ नगरपालिका र सिरानचोक गाउँपालिका तथा सहिद लखन केन्द्रबाट सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका भित्रको जनगणना हुने कार्यालय जनाएको छ ।
मेरो गणना, मेरो सहभागिता भन्ने मूल नारा सहित जनगणनामा खटिने कर्मचारीहरुलाई सहयोग गरि सहभागिताका लागि प्रमुख ढुङगानाले सवैलाई अपिल समेत गर्नुभयो ।