Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा दरबारको दशैघर, गोरखनाथ गुफा र मनकामना मन्दिरमा बिधिपूर्वक जमरा राखियो


3.9K
Shares

गोरखा दरबारको दशैघर, गोरखनाथ गुफा र मनकामना मन्दिरमा बिधिपूर्वक जमरा राखियो

गोरखा, २१ असोज : गोरखाको कालिका मन्दिरमा रहेको दशै घर, गोरखानाथ गुफा र मनकामना मन्दिरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाईतमा दशैघर र गोरखनाथ गुफामा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्याालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो ।

कालिका भगवती मन्दिरमा २ पाथी र गोरखनाथ गुफामा १ पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिनुभयो । यसअघि मूल दरबारको कैलास कोठाबाट भित्रि बाटो हुदै देवी भगवतीका सवारी गराउने प्रचलन रहदै आएको भएपनि भुकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलासकोठाको थपना गरी देवीको सवारी गराइएको कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जमरा राख्नुअघि मूलदरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भएपनि दरबार जिर्णेद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको उहाँले बताउनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

बडादशैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसंगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहदै आएको छ । यस्तै घटस्थापनाका बिहानको शुभसाईतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण सोही अनुसार नित्य पुजा गरि जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिनुभयो । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाई छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण मन्दिरमा सर्वसाधारणका लागि खुल्ला गरिएको भएपनि घटस्थापनाका दिन ठूलो भीडभाड हुने जिल्लाका सवै जसो शक्तिपिठहरु मनकामना मन्दिर, कालिका मन्दिर, गोरखनाथ गुफा अघिल्ला बर्षहरुमा जस्तो भक्तजनहरुको भीडभाड भने कम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology