गोरखा, ५ असोज : गोरखामा आफैले भिक्दै गरेको ढुङ्गाले लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–८, स्थित ढोडेनीपाखामा गोरेटो बाटो निर्माणका लागि ढुङ्गा झिक्ने क्रममा आफैले झिकेको ढुङ्गाले लागेर स्थानीय बराहफाँटका अन्दाजी ६५ बर्षका बीरबहादुर परियारको मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।
ढुङ्गाले टाउकोमा लागेर गम्भीर चोट लागेका परियारको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । ‘मैलुम जाने गोरेटो बाटोका लागी आवश्यक ढुङ्गा निकाल्ने क्रममा माथीबाट अर्को ठुलो ढुङ्गा आएर परियारको टाउकोमा लागेछ, वडाध्यक्ष अम्गाईले भन्नुभयो, ‘टाउको गम्भीर चोेट लागेका कारण उहाँको तत्कालै घटनास्थलमा मृत्यु भएको हो ।’
वडाको योजना अन्तरर्गत टोल बस्ती जाने गोरेटो बाटो निर्माणका लागी ढोडेनी पाखामा रहेको परियार ढुङ्गा निकाल्न जानुभएको थियो । घटना करिब अपरान्ह्र १२ बजे भएको प्रहरीको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको विवरण संकलन गरी शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।