गोरखा, १ असोज । कोरोना संक्रमणसंगै मानिसहरुले आर्युवेदिक औषधी र औषधीजन्य उत्पादनको प्रयोग गर्ने क्रम बढदै जाँदा आर्युवेदिक औषधी र आयुवेदिक उत्पादनको बिक्रि पनि बढ्न थालेको छ । जिल्लामा सञ्चालित पुरानो गोरखा आयुर्वेद कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा गएको आर्थिक बर्ष ०७७÷०७८ मा झण्डै ६ करोड भन्दा बढी आर्युवेदिक उत्पादनको बिक्रि बितरण गरेको हो ।
कोरोना महामारी कारण देशभरका अधिकांस उद्योगधन्दा पेशा व्यवसाय प्रभावित भइरहेका बेलामा गोरखा आयुर्वेद कम्पनी अहिलेसम्मकै धेरै उत्पादन बिक्रि गर्न सफल भएको कम्पनीका उत्पादन अधिकृत अर्जुन अर्यालले बताउनुभयो । ‘गएको आर्थिक बर्षमा करिब २१ करोड बराबरको उत्पादन बिक्रि भयो, उहाँले भन्नुभयो, अघिल्लो आर्थिक बर्षमा जम्मा १५ करोडको कारोवार कम्पनीले गरेको थियो ।’
कोरोनाका समयमा आर्युवेद कम्पनीले उत्पादन गरेको बिभिन्न प्रकारका औषधी र औषधीजन्य बस्तुको माग बढी भएकाले पनि अघिल्लो बर्षको तुलनामा कारोवार बढी भएको अर्यालको भनाई छ । कोरोना महामारीसंगै कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउने बिभिन्न ४ प्रकारको औषधी उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीले मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता बिकास लागि भन्दै इमुनो केयर सिरप, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट र इमुनो केयर क्वाथ लगायतका औषधीको उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयोे । अहिले ति औषधीहरुको नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनीले जनाएको छ ।
त्यसका साथै कम्पनीले उत्पादन गरेको गुडुची चियाको पनि बजारमा अत्याधिक माग रहेको छ । तुलसी, लेमन, सिनामन, जिन्जर, पावटी, गोरखा ड्याब टी, मिन्ट र स्लिम चिया कम्पनीले उत्पादन गर्दै आएको उत्पादन अधिकृत अर्यालले जानकारी बताउनुभयो । त्यस बाहेक पनि अभिपत्तीकर चुर्ण, टेन्सारीन, पिलारीन र च्यावन प्रास र शत्ति प्रास पनि बजारमा माग धेरै रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले उत्पादन गर्दै आएको चियापत्ती, कुरीलो पाउण्डर, गुर्जो पाउण्डर र त्रिफला युरोपियन देशहरुमा समेत निर्यात गर्दै आएको उहाँले बताउनुभयो । ‘बिशेष गरी युरोप तिरका देशहरुमा कुरीलो पाउण्डर, गुर्जो पाउण्डर र आठै प्रकारको चियापत्ती निर्यात हुने गरेको छ, अधिकृत अर्यालले भन्नुभयो, कम्पनीले कोरोनाको समयमा पनि आफ्नो उत्पादनलाई जारी राखेको कारण अधिक बिक्री गर्न सफल भएको हो ।’
गोरखा आर्युवेद कम्पनीले अहिले ११० प्रकारका औषधी तथा चिया र शत्ति बर्धक सामाग्रीहरु उत्पादन गर्दै आएको छ । कम्पनीको आमती, कान्चनार गुगुल, डिकोरीन, पिलारिन, एमभि लिभ, योग्रास र त्रिफला गुगुलको माग पनि बजारमा अत्याधिक रहेको छ । उत्पानका लागी आवश्यक पर्ने ६० प्रतिशत भन्दा बढी कच्चा पदार्थ गोरखा, लमजुङ र तनहुँबाट ल्याउने गरिएको उहाँको भनाई छ ।
त्यस वाहेक आबश्यक अन्य कच्चा पर्दाथ झण्डै ३० प्रतिशत कच्चा पदार्थ काठमाण्डौ, कास्की, बिराटनगर, चितवन र मकवानपुरबाट आयात गरिदै आएको अर्यालले बताउनुभयो । बाँकी रहेको १० प्रतिशत कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ । भारतबाट जेठी मधु, असोका, सिरेनुन, बिरेनुन र जिरा ल्याउने गरिएको कम्पनीले जनाएको छ । नेपाल सरकारले भारतबाट आयात हुने गुणस्तर हिन त्रिफला र अभिपत्तीकर चुर्णमा मात्र पनि रोक लगाउने हो भने पनि नेपालका अधिकास उद्योग नाफामा चल्ने अर्यालको दावी छ ।