संखुवासभा २६, भदौं । प्रहरीले एकै परिवारका ६ जनालाई हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याको आरोपीले प्रहरी समक्षले आफुले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।
नातामा भतिज पर्ने लोकबहादुर कार्कीलाई सिंगो परिवारको हत्या आरोपमा पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार आरोपीले अनुसन्धान ब्युरो सिआइबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । साही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।गत सोमबार बिहान तेजबहादुर कार्कीसहित ६ जनको हत्या भएको थियो । घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।