गोरखा, २३ भदौं । नेकपा एमाले गोरखा जिल्ला कमिटिको बिस्तारित बैठकले नेकपा एकिकृत समाजबादी पार्टीका लागेका पूर्व एमाले नेता कार्यकतालाई कारवाही गरेको छ । बैठकले एमाले छोडेर नेकपा एकिकृत समाजबादीमा लागेको नेताहरु विश्वेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, नारायणध्वज खड्का, कल्पना कुँवर, सिताराम बुढाथोकी, अमृत काराखेती, द्रोणाचार्य तिमल्सिना, प्रदिपसिंह क्षेत्री, इश्वरी भट्टलाई कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।
एमाले गोरखाले एमाले छोडेर समाजबादी पार्टीमा लागेका जनप्रतिनिधि कल्पना नेपाली र शिरबल बरामुलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । यस अधि नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष यादव बस्नेतलाई यस अघि नै समानान्तर कमिटि गठन गरे लगत्तै कारवाही गरेको थियो ।
पार्टी हितबिपरित कार्य गरेकाले उहाँहरुलाई कारवाही गरिएको एमालेले जनाएको छ । मंगलबार सम्पन्न बिस्तारित बैठकले जिल्लाका सवै स्थानीय तहहरुमा यहीँ असोज २ देखि १० भित्र सम्पन्न गर्ने, २८ गते सदरमुकाममा जिल्ला स्तरको अगुवा कार्यकर्ता भेला एवं अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय समेत भएको एमाले गोरखाले जनाएको छ ।
एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटि सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य पद्मा अर्याल, रामशरण बस्नेत, प्रदेश सदस्यहरु सुरेन्द्र थापा, बाबुराम थापा, सम्झना देबकोटा, कृष्ण देबकोटा, हरि काफ्ले लगायत पार्टीको नेता, गोपाल पाण्डे, कमल दानीको लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
आफुहरुले यस अघि नै एमाले पार्टी छोडेर नयाँ पार्टी गठन गरिसकेकाले कारवाही कुनै अर्थ नहुने नेकपा समाजबादी पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतले बताउनुभयो । “कारवाही मनको तितो फाल्नेबाटो मात्र हो, उहाँले भन्नुभयो, यो कारवाहीको के अर्थ छ ।”