Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गाउँमा बाँदरको आतंक : स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य


3.2K
Shares

गाउँमा बाँदरको आतंक : स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य

 

रोल्पा ५ भदौं । गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । रोल्पा जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो ।

रोल्पाका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । छ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो। “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको मगरको भनाइ छ ।

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी मनु बुढामगरको भनाइ छ । “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”

पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेको जस्तो धेरै दुःख दिने गरेको थिएन ज्येष्ठ नागरिक माकु चन्द्रकाले बताउनुभयो । “म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु”, उहाँले भन्नुभयो । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेकोे उहाँको गुनासो छ । परिवर्तन गाउँपालिका–६ ओह गाउँमा रहेको भिरखामे पहरामा धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि उक्त भिरमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँमा सताउने र क्षति गर्ने गरेका छन् । बाँदरका कारण जङ्गल नजिकै भएका धैरै जमिन बाँझो हुने गरेका छन् । जसले गर्दा धेरै दुःख गरेर लगाएको बाली एकैपटक आएर नोक्सान गरिदिने बाध्यताले कोही शहरमा त कोही भारतमा गएको स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology