काठमाण्डौं ४ भदौ। प्रहरीले व्यक्तिको चरित्र हत्या गर्दै आएका युट्वर माथि कारवाही सुरु गरेको छ । युट्युबरको आवरणमा भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भन्दै चरित्र हत्या गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
ती युट्युबरले बिर्तामोडको एक होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरेका थिए । पीडित व्यक्तिले आफ्नो चरित्र हत्या भएको भन्दै ६ जना विरूद्ध उजुरी दिएको र हालसम्म तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेमराज भट्टराई, सुवास कार्की र खगेन्द्र घिमिरे छन् ।
घिमिरे युट्युबर हुन् भने कार्की र भट्टराईले उहाँलाई सहयोग गरेको आरोप छ । पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।