गोरखा, ३१ साउन : गोरखाको सहिद लखन गाउँपालिका–७, मा गर्भवती, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरिएको छ । वडा कार्यालयले चालु आर्थिक बर्षदेखि वडा भित्रका ७० बर्ष माथिका जेष्ठ नागरिक, गर्भवती महिला र अपांगता भएका व्यक्तिहरुलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
‘आर्थिक बर्ष २०७८÷०७९ वडागत कार्यक्रम अनुसार निुशल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ, उहाँले भन्नुभयो, अब बिरामीहरुले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परेपनि एम्बुलेन्स भाडा तिर्नु पदैन ।’ वडाध्यक्ष श्रेष्ठले बुङकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीहरुलाई गोरखा अस्पतालमा पठाउनु परेमा स्वास्थ्यकर्मीका सिफरिसका आधारमा वडाबाट निशुल्क सेवा पाउने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुको सिफारिसका आधारमा गोरखा अस्पतालमा लैजानु पर्ने भएपनि तोकिएका व्यक्तिहरुलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । ‘बुङकोट स्वास्थ्य चौकीदेखि गोरखा अस्पतालसम्म आउन जान बिरामीले एक पटकमा १ हजार ८ सय भाडा तिर्नुपर्छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, वडाले खर्च व्यर्होने भएपनि थोरै भएपनि राहात मिल्छ ।’
बुङकोट स्वास्थ्य चौकीलाई सम्भव छ नेपाल नामक संस्थाले भर्खरै एम्बुलेन्स उपलब्ध गराएको सोही एम्बुलेन्सबाट सेवा प्रदान गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।