गोरखा २६, साउन (रासस) : उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवती महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथाले लागेकी २५ बर्षकी छिरिङ डोल्मा गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको गर्भवती महिलाको उद्धार गरि सुत्केरी गराउन काठमाण्डौ पठाइएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
सिर्दिबास हेल्थ पोष्टको बर्थिङ सेन्टरमा दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रसासन कार्यालयको बिशेष पहलमा गर्भवती महिलाको उद्धार गरिएको हो, उहाँले भन्नुभयो,‘आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाण्डौ पठाइएको छ ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत बिकट क्षेत्रका गर्भवती महिलाको आपतकालिन उद्धार हुदै आएको छ ।
गाउँपालिकाको अनुरोधमा जिल्ला प्रसासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफरिस गरेपछि गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवती महिलाहरुलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन भएकाले घरमै सुत्केरी गराउनु पर्ने बाध्यता रहदै आएको छ ।