गोरखा, २६ साउन : गोरखा जिल्लामा ९२ हजार भन्दा बढी अबैध गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । लागू औषध नियन्त्रणको अभियानमा संक्रियता पूर्वक लागेको गोरखा प्रहरीले गएको गत आर्थिक बर्षमा मात्रै जिल्लाभरका बिभिन्न स्थानमा पुगेर ९४ हजार ६ सय ३० वटा बोट गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
जिल्ला भित्र बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागू औषध गाँजा फडानी गरिएको उहाँको भनाई छ । डिएसपी दाहालले गत आर्थिक बर्ष २०७७÷०७८ मा जिल्लाको ६ वटा पुगेर गाँजा फडानी गरेको बताउनुभयो । गाँजा फडानी गरिएका स्थानीय तहहरुमध्ये गोरखा नगरपालिकामा सवैभन्दा धेरै ४६ हजार २ सय गाँजाको बोट नष्ट गरिएको जानकारी दिनुभयो । त्यस्तै गण्डकी गाउँपालिकामा ४२ हजार १० वटा बोट नष्ट गरिएको डिएसपी दाहालको बताउनुभयो ।
प्रहरीले पालुङटार नगरपालिकामा १ हजार ८५०, बारपाक सलिकोट गाउँपालिकामा ९ सय ६०, सहिद लखन गाउँपालिकामा ९ सय बोट, अजिरकोट गाउँपालिका वडा नम्बर २ भच्चेकमा ७ सय ८० बोट गाँजा नष्ट गरेकोे उहाँले बताउनुभयो । त्यस बाहेक चालु आर्थिक बर्षको पहिलो एक महिनाको अबधीमा समेत प्रहरीले जिल्लाका बिभिन्न ९ स्थानमा पुगेर करिब २ हजार गाँजाको बोट नष्ट गरिसकेको डिएसपी दाहालले जानकारी दिनुभयो ।
जिल्लाको धार्चे गाउँपालिकामा ६ सय, गोरखा नगरपालिकाका बिभिन्न क्षेत्रमा ८ सय, गण्डकी गाउँपालिकाको याङ्दीमा १८०, सहिद लखन गाउँपालिका वडा नम्बर १ लोपामा ३५० बोट गाँजाको बोट नष्ट गरिसकेको उहाँले बताउनुभयो । ‘लागू औषध उत्पादन र सेवनको कुलतमा फस्नबाट नागरिकहरुलाई जोगाउन हामीले लागू औषध गाँजा फडानीको कामलाई तिव्रता दिदै आएका छौ ।, उहाँले भन्नुभयो ।
प्रहरीले लागू औषध गाँजा फडानीका लागि अभियान नै सञ्चालन गरेर जिल्लाका सवै ठाउँमा पुगेर सार्वजनिक स्थल तथा व्यक्तिका जमिनमा रहेका प्राकृतिक गाँजा समेत नष्ट गर्दै आइरहेको उहाँले बताउनुभयो ।’ प्रहरीले सार्वजनिक स्थलमा गाँजाका बोट देखिएमा जानकारी गर्न समेत नागरिकहरुलाई अपिल गरेको छ ।