Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते


4K
Shares

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुर २३, साउन । आज दिउँसो अचानक रुख ढलेर किच्चा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–७ मा दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ ।

दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २–०१०–१त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन् । अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology