गोरखा, २१ साउन : गोरखाको आरुघाट गाउँपालिकाका–१ स्थित स्याम्चेतका एक पुरुष खोला बगाएर तीन दिनदेखि बेपत्ता हुनुभएको छ । स्थानीय डुडुरे खोलाले बगाएर ४२ बर्षका सानुकमल गुरुङ मंगलबारदेखि बेपत्ता हुनुभएको वडाध्यक्ष शेरबहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर २ मा पर्ने मान्बुगैरेबाट गोरु किनेर घर र्फकदै गर्दा खोलाबाट गोरु तार्ने क्रममा उहाँलाई खोलाले बगाएको वडाध्यक्ष घलेले बताउनुभयो ।
‘गोरु बेच्ने नरबहादुर गुरुङसंगै डुडुरो खोलाबाट उहाँले गोरुलाई अगाडी लगाएर आफु पनि खोलाबाट नै पछिपछि आउनु भएको रहेछ, उहाँले भन्नुभयो, ‘त्यही क्रममा खोलाले बगाएर बेपत्ता बनाएको हो ।’घटनास्थल नजिकै झोलुङे पुल भएपनि गोरु झोलुङे पुलबाट नतर्ने भएपछि गुरुङ गोरु पछिपछि खोला तर्ने प्रयास गर्दा बगाएको वडाध्यक्ष घलेले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै स्थानीयबासी र प्रहरीले बेपत्ता गुरुङको खोजी कार्य जारी राखेको छ ।
तर अहिलेसम्म पनि फेला पार्न नसकिएको उहाँको बताउनुभयो । बेपत्ता गुरुङको खोजीका लागि घटना लगत्तैदेखि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । तीन दिनसम्म पनि शव नभेटिएपछि परिवारले शुक्रबारदेखि भने काजक्रिया सुरु गर्ने तयारी गरेको वडाध्यक्ष घलेले जानकारी दिनुभयो ।