गोरखा, १८ साउन : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा ७ घर पहिरोको उच्च जोखिममा परेको छ । शनिबार रातीदेखि परेको अबिरल बर्षापछि गएको पहिरोमा कोलस्वाँराका स्थानीय रामबहादुर गुरुङ, मनबहादुर गुरुङ तथा फुन्चोकबस्तीमा स्थानीयबासी रबिन तामाङ र चन्द्रबहादुर तामाङ लगायतको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै पुन्चोकमा घरमाथि खनिएको कच्ची रोडका कारणले ठूलो पहिरो खसेको स्थानीयबासी मोहन ढकालले जानकारी दिनुभयो । पहिरोका कारण स्थानीय कुमारी गुरुङको परिवार पूर्णरुपमा बिस्थापित भएको छ । उहाँको परिवारका ५ सदस्य नजिककै रहेको कटेरोमा आश्रय लिएको ढकालले जानकारी दिनुभयो ।
गुरुङको घर माथिबाट खसेको पहिरो घर नजिकै रहेको करिब ३ रोपनी क्षेत्रफल मकै कोदो लगाइएको जमिन समेत पहिरोले पुरेको ढकालले जानकारी दिनुभयो ।‘बाख्राको खोर र घर आधा पुरिएको छ, रेडक्रसको सहयोगमामा पिडितलाई तत्कालका लागि एउटा त्रिपाल उपलब्ध गराएका छौ, उहाँले भन्नुभयो, त्यही त्रिपालको साहायतामा गुरुङको परिवारले आश्रय लिएको छ ।’
