गोरखा, १४ साउन : गोरखामा एक पुरुषको आज शव फेला परेको छ । गोरखा नगरपालिका–८, स्थित आले गाउँमा बस्दै आएका ४५ बर्षिय चन्द्रबहादुर भण्डारीको शव दिउँसो करिब २: ३० बजे घर नजिकै सडकमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
स्थानीयबासीले लडेको अबस्थामा भण्डारीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै स्थानीय र प्रहरीको टोली उद्धार गरेको भएपनि उहाँको मृत्यु भईसकेको पाइएको डिएसपी दाहालले बताउनुभयो । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका भण्डारी गोरखा सदरमुकाममा बहिनीको घरमा बस्दै आउनु भएको थियो । पारिवारिक सम्बन्ध राम्रो नभएकाले उहाँ बहिनीको घरमा बस्दै आएको खुलेको डिएसपी दाहालको भनाई छ ।
मृतक भण्डारीले अत्याधिक मादक पदार्थ सेवा गर्ने गरेको परिवारले जानकारी गराएको प्रहरीले जनाएको छ । भण्डारीको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । भण्डारीको मृत्यु कसरी भएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको डिएसपी दाहालले बताउनुभयो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।