खोटाङ, १३ साउन । प्रहरीले भरुवा बन्दुकसहित वडा सदस्यलाई पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो।
घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले उनीहरुको घरैबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ।
पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।