सानेबहादुर नेपाली
तनहुँ,८ साउन : व्यासनगरपालिका कार्यालयले व्यासनगरपालिका–१० दुम्सी बजारमा पच्चीस शैय्याको व्यासनगर अस्पताल बन्ने खुशीयालीमा वडाबासीले दीपप्रज्वलन गरेका छन् । व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेपछि खुशीयालीमा साँझ दीपप्रज्वलन गरेका हुन् ।
पच्चीस शैय्याको व्यास नगर कोभिड अस्पताल, व्यास–१० स्थित दुम्सी आधारभुत स्वास्थ्य केन्द्रमा व्यवस्थापन गर्न सम्बन्धित वडा अध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । पिसिआर ल्याब समेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गर्ने निर्णय गरेको व्यासनगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिनुभयो ।
आर्थिक बर्ष ०७७/०७८ मा टेण्डर प्रकृया मार्फत ७३ योजना सञ्चालनमा रहेकोमा ४२ सम्पन्न भई एकातिस योजनाका निर्माण कार्य अधुरो रहेको जनाइएको छ । उपभोक्ता समिति मार्फत एक हजार दुई सय तीनवटा योजना सम्झौता अनुरुपको समय अवधिमा सम्पन्न भएको व्यासनगरपालिका कार्यालयले जनाएको छ । व्यास नगरपालिका साविक स्थानीय निकायका कर्मचारीहरुको समायोजन तथा स्तरबृद्दी गरिएकोमा बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी,व्यास नगरपालिका–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । व्यास नगरपालिका भित्र बाढीले पुर्याएको क्षतिलाई पुनर्स्थापना गर्न नगरपालिका आफैले जाली बुन्ने कार्यमा पुर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरी,नगरमा नगर प्रमुखको अध्यक्षतामा र वडामा वडा अध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति संशोधित ऐन अनुसार पुनर्गठन गर्ने निर्णय गरेको छ ।
कर्मचारी समायोजन एवं स्तरबृद्दी पछि नगरपालिका संगठन संरचनामा संशोधन गर्नुपर्ने भएकोले सम्बिन्धत सबै पक्षसंग परामर्श गरी संशोधन प्रस्ताव १५ दिन भित्र पेश गर्न उप–प्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिकामा व्यवसाय कर विविध कारणले उठ्न ढिलाई भएको देखिँदा छुट सम्बन्धमा प्रस्ताव पेश गर्न राजश्व परामर्श समितिलाई जिम्मा दिने र व्यास नगरपालिका– ८ बर्लाचिमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।