पर्वत ८ साउन । पर्वतका स्थानीय तहले कृषि तथा पशुपालनमा लाग्ने किसानका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएका छन् । गाईलाई सुत्केरीभत्ता दिने देखि खसीबोका बेच्दा प्रतिकिलोमा अनुदान स्थानीय तहका योजना बनेका छन् । बिहादी गाउँपालिकाले किसानको कल्याणकारी कोष, अपाङ्गता भएका किसानको निशुल्क बीमा, गाईलाई सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएको प्रमुख प्रसासकीय अधिकृत ध्रुब दयालले जानकारी दिनुभयो ।
पैयुँ गाउँपालिकाले जाँगर भएर पनि जग्गा नभएका युवालाई खेतीपाती गर्ने जग्गा उपलब्ध गराउनेदेखि बाँझो जमिनमा खेतीपाती गर्न प्रेरित गर्ने कार्यक्रम ल्याएको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीको भनाइ छ । फलेबासमा पनि कृषिमा रोजगारी र आम्दानी गर्ने खालका विभिन्न कार्यक्रम रहेका छन् । नगरप्रमुख पदमपाणि शर्माका अनुसरा नगरपालिकाले किसानको हितलाई ध्यानमा राखेर योजना र बजेटको व्यवस्था गरेको छ ।
कुश्मा नगरपालिकाले ‘एक गाउँ एक कृषि नर्सरी’, केरा, कागती, किबी तथा सुन्तला खेती बिस्तार गर्ने कार्यक्रम प्राथमिकतामा राखेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । स्थानीय तहले कृषि उत्पादन वृद्धि गर्ने, किसानलाई ऋण तथा अनुदान, बस्तु बजारीकरण लगायतका सहयोग गर्ने आगामी आर्थिक वर्षको बजेटमा समाबेश गरेका छन् ।