गोरखा, ६ साउन : गोरखाको सहिद लखन गाउँपालिका–२, स्थित नयाँबारी क्षेत्रमा भिरबाट लडेर आज एक युवकको मृत्यु भएको छ । नयाँ बारीमा रहेको मनकामना रिट्रिङ रिर्सोट एण्ड स्पा प्रा.लिमा काम गर्दै आएका सप्तरी सिसवा वेलही खड्ग नगरपालिका वडा नम्बर २ घर भएका २२ बर्षिय करनबुध चौधरीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।
‘सधै राती अबेरसम्म काम गरेर फर्कने गरेका चौधरी गएराती पनि काम गरेर फर्किएको भएपनि पनि डेरामा नपुगेको भन्ने जानकारी आएपछि चौधरीको खोजी गरिएको थियो, उहाँले भन्नुभयो, नयाँबारी क्षेत्रमा नै भिरबाट लडेको अबस्थामा करिब ३० मिटर तल आज शव भेटिएको हो ।’ चौधरीको खोजीका लागि प्रहरी र स्थानीय सहितको टोली शंकास्पद क्षेत्रमा पुगेको थियो ।
भिरबाट लडेर मृत्यु भएको अबस्थामा चौधरीको शव फेला परेपछि प्रहरी निरीक्षक कमाण्डमा थप अनुसन्धानका लागि घटनास्थलमा टोली परिचालन गरिएको एसपी खनालले जानकारी दिनुभयो । ‘घटनाका बिषयमा अनुसन्धान सुरु भइसकेको छ, उहाँले भन्नुभयो, मृतकका साथीहरु सहित रिर्सोटका सञ्चालकहरु संग सोधपुछ गरिरहेका छौ ।’
चौधरीको मृत्यु शंकास्पद रहेको भन्ने आधारमा गहिरो अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । मृत्तक चौधरीको शव पोष्र्टमार्टमका लागि गोरखा अस्पताल ल्याउन तयारी भइरहेको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।