गोरखा, ६ साउन : तीन दिनदेखि बेपत्ता भएकी गोरखाको पालुङटार नगरपालिका– २, खोप्लाङ तिलहारकी एक महिलाको मंगलबार शव फेला परेको छ । स्थानीयबासी ४८ बर्षकी सुकमाया मग्रातीको शव गोरखा नगरपालिका वडा नम्बर १२ स्थित हात्तिसार फाँट नजिकै दरौदी नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
मग्राती यहीँ आइतबार दिउँसो करिब ३ बजे घरबाट निस्किएपछि एक्कासी बेपत्ता हुनुभएको थियो । उहाँ बेपत्ता भएपछि परिवारले खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए । प्रहरी र प्रहरीको टोली खोजी गर्दै जाँदा मग्रातीको शव फेला परेको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिका–१० स्थित छेवेटार क्षेत्रमा पुल नजिकै स्थानीय व्यक्तिहरुले उहाँलाई देखेको भन्ने निवदेनको आधारमा हराएकी महिलाको प्रहरी र स्थानीयले खोजी गरिएको थियो । प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पुगेर मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानपछि पोष्टर्माटमका लागि गोरखा अस्पताल ल्याइएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
मग्राती हत्या भएको हो वा होइन भन्ने बारेमा खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।