गोरखा ३१, असार । गोरखामा पछिल्लो ६ महिना भएका मानव अधिकार उल्लंघन र तथा ज्यादतीका घटनाहरु मध्ये बालिका माथि बलात्कारका घटना बढी भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज सदरमुकाममा गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २२ का लागि संकलित घटनाहरुको अर्धबार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा बालिका माथिका बलात्कारका घटना बढी भएको पाइएको जनाएको हो ।
पछिल्लो ६ महिना २० वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु भएकोमा १९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका घटना भएको जनाएको छ । जसमध्ये १४ वटा घटना १६ बर्ष मुनिका बालिकाहरु परेका छन् । इन्सेका गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार १४ बर्षका ५ जना, १६ बर्षका १ जना, १५बर्षका ३ जना, १३ बर्षका २ जना, ७ बर्षका १ जना, १२ बर्षकी १ जना र ४ बर्षकी १ जना बालिका माथि बलात्कार, बलात्कार प्रयास तथा यौनदुब्र्यहारको घटना भएको छ ।
जसमा ३ वटा घटना यौनदुब्र्यहार र बाँकी ११ वटा घटना बलात्कारका रहेको उहाँले बताउनुभयो । त्यस्तै पछिल्लो २० बर्ष माथिका ५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको उहाँले जानकारी दिनुभयो । इन्सेकले २२ बषर्की २ जना युवती, २६ बर्षकी एक महिला तथा ५७ र ५३ बर्षकी दुई जना महिला माथि पनि बलात्कारको तथा बलात्कार प्रयासका घटना भएको जनाएको छ । त्यस्तै जिल्लामा पछिल्लो ६ महिनामा जातिय बिभेदको एउटा घटना भएको उल्लेख गरेको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङमा पशुमा खोप लगाउन गएकी भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाकी कर्मचारी प्रिती गैरे र बिशाल सिर्मल माथि जातिय बिभेदको घटना भएको इन्सेकले जनाएको छ । समिक्षा कार्यक्रममा नेपाल बारएसोसियन गोरखाका अध्यक्ष यादव शर्मा, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।