गोरखा २६, असार । गोरखाको सिरानचोक गाँउपालिका– ३, हर्मी स्थित हर्मी भन्ज्याङमा पार्क निर्माणका लागि स्थानीयबासी अग्रसर भएका छन् । करिब २५ रोपनी क्षेत्रफलमा बरालबोटे पार्क निर्माण गर्न लागिएको स्थानीय युवा रमित ढकालले जानकारी दिनुभयो । ‘यहाँ बिस्तारै पार्कको पुर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजनामा हामी छौँ’ उहाँले भन्नुभयो, ‘पार्क भित्रै रहेका धाराको संरक्षण र पोखरीको जगेर्ना गर्ने काम अहिले सिमसार ब्यवस्थापन कार्यक्रम अन्र्तगत बन डिभिजन कार्यालयले गरिरहेको छ ।’
बरालबोटे संरक्षण पार्कमा अहिले चौतारो बनाउने, सिँढी बाटो बनाउने, तारबार लगाउने, नाली बनाउने , बिरुवाहरु सार्ने काम समेत सबडिभिजन बन कार्यालयले गरिरहेको उहाँले बताउनुभयो । पार्क भित्र असोका, धुपी ,कपुर, टिम्मुर, तेजपत्ता जस्ता बिरुवा लगाएर उक्त पार्क क्षेत्र ‘पिकनिक स्पोट’ को रुपमा बिकास गर्ने योजना रहेको स्थानीयले बताएका छन् ।
पार्क भित्र हर्मीका करिब २ सय परिवारले पानी पिउने पुरानो पैरा धारा समेत रहेको र उक्त धाराको समेत पार्कसंग जोडेर संरक्षणको योजना बनाइएको उहाँले बताउनुभयो ।
