तनहुँ २४, असार । गएरातीदेखि परेको अबिरल बर्षाका कारण गएको पहिरोमा परि पुरिएर एक व्यक्ति वेपत्ता भएका छन् । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ माझकोटमा पहिरोले पुरिएर अन्दाजी ४० बर्षका खुमबहादुर थापा बेपत्ता हुनुभएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले दुई घर पुरेको र १० घरमा क्षति पुर्याएको उहाँले बताउनुभयो । पहिरोले स्थानीयवासी नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ।
त्यसैगरी सीता केसीको घर पहिरोले पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै बाली क्षति पुर्याएको उहाँले बताउनुभयो । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसैगरी ऋषिङ–४ का वडासदस्य टोलनाथ थापाको घर पहिरोले पुरेको छ। घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो ।