चितवन २३, असार । एक्काईस बर्षिय एक युवती गएको १० दिनदेखि बेपत्ता भएकी छिन् ।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उहाँको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै युवतीका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
छोरी घरबाट गएको दिन राती ३ पटकसम्म कुरा भएपनि त्यस यता सम्र्पकमा नरहेको उहाँका पिता जयेश्वर सापकोटाले जानकारी दिनुभयो । युवती गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएको परिवारले बताएको छ ।
भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ ।
उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।