गोरखा १८, असार । गोरखा जिल्लामा निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात झण्डै दुई महिनापछि आईतबारदेखि सञ्चालन हुने भएको छ । जिल्ला स्तरीय कोभिड १० संकट व्यवस्थापन केन्द्रको शुक्रबार ( आज) बसेको बैठकले आइतबारदेखि जिल्ला भित्र यातायात सञ्चालन खुल्ला गर्ने निर्णय गरेको हो ।
बैठकले असार २९ गतेसम्म जिल्ला भित्र निषेधाज्ञा थप गर्ने निर्णय गरेपछि सार्वजनिक तथा नीजि सवारी साधनहरु भने स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गोरखा जिल्लामा गएका बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरेपछि जिल्ला भित्र सार्वजनिक तथा नीजि सवारी साधनहरु बन्द भएका थिए ।
बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरुले सवारी साधान सञ्चालन गर्दा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने नपाउने निर्णय गरेको छ । त्यस्तै सवारी साधनमा अनिबार्य सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने निर्णय पनि डिसिएमसीको बैठकले गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।