गोरखा १८, असार : गोरखा नगरपालिका वडा नम्बर ११ ले वडा भित्र उत्कृष्ठ कार्य गर्ने संघसंस्था र व्यक्तिहरुलाई आज सम्मान गरेको छ । वडा कार्यालय वडा भित्रका जेष्ठ नागरिक, असल बुहारी, उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति, कृषि फर्म, खानेपानी उपभोक्ता समिति, समाजसेवी, खेलाडी लगायतलाई एक कार्यक्रममा बिच सम्मान गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले वडा भित्रका उत्कृष्ट कार्य गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गर्नुभएको हो ।
नगरप्रमुख पन्तले वडाभित्रका सवै भन्दा जेष्ठ नागरिक ९५ बर्षका आशाबहादुर तामाङ र ९४ बर्षका कृष्णकुमारी रानालाई सम्मान गर्नुभएको छ । त्यस्तै परिवारमा सासु ससुराको राम्रो हेरबिचार गर्ने ६ जना बुहारीलाई पनि नगरप्रमख पन्तले सम्मान गर्नुभयो । सम्मानित हुने उत्कृष्ट बुहारीहरुमा मिठ्ठु रिमाल, सानु आले, मुना ढकाल, समुन्द्र रेग्मी, संगिता बस्नेत र कृष्णकुमारी थापा रहनु भएको छ । उहाँहरुलाई नगरप्रमुख पन्तले खादा र प्रमाण पत्रले सम्मान गनुभएको हो ।
वडा कार्यालय चालु आर्थिक बर्षमा वडा भित्र उपभोक्ता समिति मार्फत सञ्चालित बिकासका आयोजना छिटोछरितो मापदण्ड पुरा गरि समयमा सम्पन्न गर्ने २ वटा उपभोक्ता समितिलाई पनि सम्मान गरेको छ । वडा कार्यालयले उत्कृष्ठ छनोट गरेको तेह्रकिलो फुटपाथ निर्माण उपभोक्ता समिति, बिरिमकाली मन्दिर आलेगाउँ सडक निर्माण उपभोक्ता समिति र बराल धारा खानेपानी ट्याङी निर्माण उपभोक्ता समिति, बाह्रकिलो ढकाल गाउँ सिर्दिबाटो निर्माण समिति, बरभन्ज्याङ सामुदायिक निर्माण उपभोक्ता समिति र चौधकिलो कोरियन डाँडा सिर्दिबाटो निर्माण उपभोक्ता समितिलाई पनि नगरप्रमुख पन्तले सम्मान गर्नुभयो ।
वडा कार्यालयले वडा भित्र व्यवसायिक उत्पादनमा टेवा पु¥याउदै आएको ३ वटा कृषि फर्म, वडाभित्र उत्कृष्ट कार्य गर्ने ४ ओटा टोलबिकास संस्था, ३ वटा खानेपानी उपभोक्ता समिति, २ ओटा कृषि सहकारीलाई पनि सम्मान गरेको छ । त्यस्तै वडा भित्र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल समाजसेवी देवेन्द्र भण्डारी, तुलसीप्रसाद देवकोटा, ट्याक्सी व्यवसायी समिति गोरखाका अध्यक्ष अमृत लामिछाने (सुरेन) वडा खेलकुद तथा नृत्यको क्षेत्रबाट बिभिन्न ठाउँमा भएका प्रतिस्पर्धामा बिजयी खेलाडी तथा कलकार र वडा भित्र भोलेन्टियर्स रुपमा कार्य गरि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका सामजिक मेलमिलापकर्ता सुनिता पौडेल, बलराम पन्त र राजन भट्टराईलाई वडा कार्यालयले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सामाजिक परिवर्तनका लागि भूमिका खेल्ने सवैको उच्च सम्मान गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

