गोरखा १४, असार । खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर इकाई गोरखाले मासुको उत्पादन बढाउनका लागि व्यवसायिक कृषक समुहलाई अनुदानमा उन्नत जातको व्याड बोका बितरण गरेको छ । इकाईले दुई वटा स्थानीय तहलाई मल्टीप्लाई हर्ड स्थापना गर्ने कार्यक्रम अन्तरगत उन्नत जातको व्याड बोका बितरण गरेको कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिनुभयो । इकाईले गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित हुडीखोला कृषक समुह र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका स्थित सात तलेदेवी कृषक समुहलाई २/२ ओटा बोयर जातका व्याड बोका बितरण गरेको उहाँले बताउनुभयो ।
‘बितरण गरिएका व्याड बोका १०० प्रतिसत उन्नत जातको हो, बरिष्ट कृषि अधिकृत पण्डितले भन्नुभयो, ‘ उन्नत जातको उक्त व्याड बोकाबाट जन्मने पाठपाठीहरु छिटो हुर्कने, तौल बढी हुने र स्वस्थ्य समेत हुने भएकाले कृषकहरुलाई छिटो र राम्रो फाइदा लिनसक्छन् ।’ बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरबाट खरिद गरेर ८५ प्रतिसत अनुदानमा चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत दुई कृषक समुहलाई व्याडबोका बितरण गरेको उहाँले बताउनुभयो ।
‘अनुदानमा उपलब्ध गराइएको व्याड बोका १६ देखि २५ केजीसम्म तौल रहेका छन्, कृषि अधिकृत पण्डितले भन्नुभयो, ‘उमेरका हिसावले सवै ३ महिनादेखि ४ महिनासम्मका हुन्, यो छिटो बढ्ने र तौल बढी हुने भएकाले मासु उत्पादनमा समेत बृद्धि हुन्छ ।’ अनुदानमा व्याडबोका उपलब्ध गराइएका कृषक समुहहरुले अनुदानको सहि सदुपयोग गरे नगरेको बारेमा समेत अनुगमन गरिने उहाँको भनाई छ ।
‘किसानहरुको आयआर्जन बृद्धिका लागि मात्र नभई मासुलाई उत्पादन बढाउदै मासुमा आत्मानिर्भर बनाउनका लागि यो कार्यक्रम प्रभावकारी छ, बरिष्ट कृषि अधिकृत पण्डितले भन्नुभयो, कृषकहरुले अनुदानको सहित सदुपयोग गरे सरकारको लक्ष्य पनि पुरा हुदै जानेछ भने कृषकहरु पनि बिस्तारै आत्मानिर्भर बन्दै जानेछन् ।’
इकाईले उन्नत जातको व्याड बोका लगाएपछि कृषक समुहमा भएका परिवर्तन लगायतका बिषयमा बिषय रेर्कड समेत राख्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत इकाइले कृषकहरुका लागि खोर निर्माण, घाँसको बिऊ बितरण, दाना व्यवस्थापन लगायतका कार्य किसानहरुलाई सहजीकरण गदैै आएको छ ।
