काठमाण्डौं ७, असार । काठमाण्डौमा आज मध्यरातदेखि लागू हुनेगरि केही खुकुलो गरि पुनः एक साता निषेधाज्ञा थप गरिएको छ । उपत्यका ३ जिल्लामा गएको १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गर्दै के–के खुल्ने के नखुल्ने भन्नेबारे निर्णय गरेको छ ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिइने भएको छ । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । त्यस्तै ट्याक्सीमा भने तीन जना मात्रै यात्रु राख्न पाइनेछ भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
उपत्यका भित्र पार्टी प्यालेस जिमखाना सिनेमाहल खोल्न भने रोक : यता कोरोना संक्रमण रोकथाकका लागि उपत्यका भित्रसबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशाला र मानिसका भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निर्णय कायम गरिएको छ ।
खुला स्थानमा मानिसहरू भेला हुन्, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषेध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि सञ्चालन गर्न पाइनेछैन । पुजारीबाट मठमन्दिरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरूमाथिको रोक कायम राखिएको छ ।