गोरखा २५, जेठ । गोरखा क्षेत्र नम्बर २ (ख) का प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले हतारोमा औषधी किनेर उपलब्ध गराइएकोमा केही औषधी म्याद गुज्रिएको पाइएको स्विकार गर्नुभएको छ । सांसद दवाडीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न सञ्चार माध्यममा कोरोना संक्रमितका लागि म्याद गुज्रिएको औषधी उपलब्ध गराएको भन्ने समाचार प्रकाशन प्रशारण भएको तर्फ गम्भीर ध्यानकर्षण जनाउदै सौरपानी र रन्चोक स्वास्थ्य चौकीलाई बितरण गरिएको औषधीमा केही म्याद गुज्रिएको पर्न गएको स्विकार गर्नुभयो ।
‘हतारोमा औषधी किनेर उपलब्ध गराईएकोमा स्वास्थ्यकर्मी र वडाध्यक्षको रोहवरमा रुजु गर्दा दुईवटा स्वास्थ्य चौकीमा वितरण गरिएको केहि औषधीहरु म्याद गुज्रिएको पर्न गएको जानकारी पाईसकेका छौं, बिज्ञप्तिमा भनिएको छ, ‘म्याद नभएका औषधी डिस्पोज गरि अरु औषधी मात्रै प्रयोग गर्न मैले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिसकेको छु ।”
सांसद दवाडीले जारी गरेको बिज्ञप्तिमा वडाध्यक्ष सहितका जनप्रतिनिधिको रहोवरमा म्याद गुज्रिएका औषधी डस्टविनमा फालिएकोमा झिकेर राजनीतिक पुर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सन्जालमा पोष्ट गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । “जनताको स्वास्थ्य माथी जानाजान खेलवाड गर्नु अपराध हो, त्यसमाथी म्याद गुज्रिएको औषधी वितरण गर्नु अघि नै रुजु भैसकेको र त्यसले कसैमाथी असर नपरेको म सबैमा जानकारीका लागि अनुरोध गर्दछु,” सांसद दवाडीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । बिज्ञप्ति हेर्नुहोस् ।
