गोरखा, २३, जेठ (रासस) : गोरखा नगरपालिका गोरखाले कोरोना संक्रमितको उपचारका लागि ३० बेडको आइसोलेसन निर्माण गरेको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित गोरखा उद्योग बाणिज्य संघको भवनमा आइसोलेसन निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । ‘संक्रमितको उपचारका लागि आबश्यक पर्ने सुबिधा सहित आइसोलेसन तयार भइसकेको छ, उहाँले भन्नुभयो, गोरखा अस्पतालमा बिरामीलाई बेडको अभाव हुने अबस्था नगरपालिकाले तयारी पारेको आइसोलेसनमा राखेर उपचार गर्न सकिने अबस्था बनेको छ ।’
आइशोलेसनमा ४६ वटा अक्सिजन सिलिण्डर र ३ वटा अक्सिजन कन्सन्ट्रेटर समेतको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत पन्तले बताउनुभयो । आइसोलेसनमा संक्रमितहरुको उपचारका लागि चिकित्सक सहितको स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘सुविधा सम्पन्न शौचालय, आइसोलेसनका लागि आवश्यक कर्मचारी व्यवस्था पनि नगरपालिकाले गरेको छ, उहाँले भन्नुभयो, कर्मचारीहरुका लागि बस्नका लागि ठाउँको व्यवस्थापन समेत आइसोलेसनमा निर्माण गरिएको छ ।’
पहिलो चरणको कोरोना संक्रमण बेला खरिद गरिएको बेडहरुकै प्रयोग गरेर आबश्यक सामग्री थप गरि संघको भवनमा आइसोलेसन निर्माण गरिएको उहाँको भनाई छ । ‘नपुग सामानहरु नगरपालिकाले खरिद गरेर संक्रमितको उपचार गर्न सकिने गरि आइसोलेसन तयार भएको छ, प्रमुख प्रशासकिय अधिकृत पन्तले भन्नुभयो, अब गोरखा अस्पतालमा सञ्चालनमा रहेको आइसोलेसन बेड खाली नभए यहीँ राखेर संक्रमितको उपचार गरिनेछ ।
नगरपालिकाले निर्माण गरेको उक्त आइसोलेसनको जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का संयोजक तथा प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल नेतृत्वको टोलीले शनिबार अनुगमन समेत गरेको छ । उक्त आइसोलेसन ब्यवस्थित रहेको र बिरामीलाई सहजै राख्न सकिने डा. बिनोद दुवाडीले जानकारी दिनुभयो । आइसोलेसनमा बिरामीका निगरानीका लागि तारबार तथा सिसि क्यामेरा समेत जडान गरिएको नगरपालिकाले जनाएको छ । तस्विर : गोरखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तको फेसबुक पेजबाट साभार