गोरखाको बारपाकमा हेलिकप्टर चार्टर गरेर १० थान अक्सिजन कन्सन्ट्रेटर पुर्याइएको छ । दोस्रो चरणको कोरोना महामारी फैलिरहेको बारपाकमा संक्रमितको उपचारमा सहयोग पुर्याउन माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।
उक्त सामग्री हेलिकप्टर चार्टर गरेर बारपाक पुर्याइएको थियो । प्रताप अधिकारीको बिशेष पहलमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिनुभयो । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले बताउनुभयो ।