गोरखा १४, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा आज ७२२ जनाको एन्टिजेन परीक्षण गरिएको छ । कोरोना संक्रमण फैलिएको आंशकामा गण्डकी प्रदेश, स्वास्थ्य कार्यालय गोरखा, गोरखा अस्पताल र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले उनिहरुको एन्टिजेन परीक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । परीक्षण गरिएका मध्ये ५८ जनामा कोरोना संक्रमणको पुष्टी भएको उहाँले बताउनुभयो ।
बारपाक क्षेत्रमा पछिल्लो समय कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुको संख्या बढ्दै गएको र १३ जनाको मृत्यु भएपछि भएपछि गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टको आवहानमा चिकित्सक सहितको टोली शुक्रबार बिहानै बारपाक पुगेको थियो । बारपाक पुगेको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले ३ ठाउँमा शिविर खडा गरेर लक्षण देखिएका तथा संक्रमणको उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गरिएको उहाँले बताउनुभयो ।
बाँकी रहेकाहरुलाई शनिबार पनि एन्टिजेन परीक्षण गरिने प्रमुख प्रशासकिय अधिकृत भण्डारीको भनाई छ । यस अघि बारपाक क्षेत्रमा मात्र तिन पटक सम्म गरिएको कोरोना परीक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टी भइसकेको छ । संक्रमणको जोखिम क्षेत्र पहिचान गरि नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा राष्ट्यि सभाका सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) केही हप्ता अघि बारपाक पुगेर त्यहाँका ७३ जनाको एन्टिजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टी भएपछि बारपाक संक्रमणको उच्च जोखिममा रहेको पुष्टी भएको थियो ।
चिकित्सक सहित बारपाक पुग्नु भएका श्रेष्ठले परीक्षण गरिएका मध्ये करिब ४७ प्रतिसतमा कोरोना पुष्टी भएपछि संक्रमण रोकथाम र न्युनीकरणका लागि तत्काल आबश्यक कदम आग्रह गर्नुभएको थियो ।