गोरखा १४, जेठ । लगातारको बर्षाका कारण गोरखाको सहिद लखन गाउँपालिका -७, बुङ्कोटमा पहिरोले एउटा गोठ पुरिएको छ । आज साझ करिब सात बजेको समयमा बोर्लाङी गाउँका धन बहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोले गोठमा रहेका दुहुना भैसी, एउटा ब्याउने भैसी, एउटा पाडा सहित खोरमा रहेका ३ ओटा बाख्रा र एउटा बोका पुरिएको उहाँको भनाइ छ । पहिरोले पुरिएका २ ओटा भैंसी, बाख्रा र बोका निकाल्न नसक्ने अबस्थामा रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
गोठमा नै रहेका एक हल गोरु र भैसी पाडो भने घाईते अबस्थामा छिमेकीको सहयोगमा उद्दार गरिएको छ। लगातारको बर्षाका कारण पनि पहिरो हटाउन समस्या भएको स्थानीयले बताएका छ्न ।