काठमाण्डौं १०, जेठ । कोरोना संक्रमण दर नघटेपछि उपत्यकाका ३ जिल्ला प्रसासन कार्यालयले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । मंगलबार बस्ने उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय तयारी भईरहेको स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो ।अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ । मन्त्रालयको यो निर्देशनपछि जारी निषेधाज्ञालाई थप कडाईका साथ कार्यान्व्यन गराइने जनाईएको छ ।
सरकारले केही दिन अघि ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यन्यनका लागि यस्तो परिपत्र गरिएको हो । उक्त परिपत्र अनुसार निषेधाज्ञाको उल्लंघन गर्नेहरुलाई जरिवान, होल्डिङ गर्नेसम्मको कानुन कार्यन्यनको र्निदेशन दिइएको छ ।