बिराटनगर ८, जेठ । कोरोना संक्रमणका कारण झापाका एक नवदुलहीले पति गुमाउनु परेको छ । झापाको गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग वैशाख १० गते मागी विवाह भएकोमा २८ दिनपछि कोरोना संक्रमणका कारण मृत्यु भएको हो। उनीहरुको विवाह हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरले छोपिसकेको थियो ।
विवाहमा सतर्कता अपनाइयो । तर पर्याप्त भएन । विवाहको रौनक नसकिंदै बिहेघरका सदस्यहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । लक्षण देखिएपछि वडा कार्यालयले परिवारका चार सदस्यको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आयो । पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि बेहुलाकी आमाको मृत्यु भयो । आमाको मृत्यु भएको भोलिपल्ट बेहुला अस्पताल भर्ना भए । ‘२० गते आमा र दुई छोराको रिपोर्ट पोजेटिभ आयो,’ वडाध्यक्ष मणिन्द्र कार्की भन्नुभयो, ‘वैशाख २३ गते आमाको मृत्यु भयो, जेठ ८ गते छोरोको पनि मृत्युभयो ।’
आमाको मृत्यु भएको १६ दिनपछि सन्तोषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उहाँको शनिबार दिउँसो १२: ४५ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनको मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख बैजनाथ साहले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमा कुनै दीर्घरोग थिएन ।नवदुलही सुष्मा र दाजु शम्भुले कोरोनालाई जितेका छन् ।
विवाहमा डेढ–दुई सय जति मान्छे सहभागी थिए । एकै परिवारको दुईजनाको मृत्युले सबैलाई दुःखी बनाएको छ ।