गोरखा ३ जेठ । नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) गहृ जिल्ला गोरखाको कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली लिएर निस्कनु भएको छ । जिल्लामा संक्रमणको भयावह बन्दै गएपछि प्रवक्ता श्रेष्ठ दुई जना बिशेषज्ञ चिकित्सक सहितको टोली लिएर गोरखा प्रस्थान गर्नुभएको हो । ‘टोलीमा चिकित्सक, ल्याव टेक्निसियन सहितको स्वास्थ्यकर्मीको टोली छ, प्रवक्ता श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले भन्नुभयो, ‘टोलीले संक्रमण फैलिएको क्षेत्रमा पुगेर त्यहाँ फिल्डमै संक्रमणको जोखिममा परेकाहरुको एन्टिजेन परीक्षण लगायतको सेवा गर्नेछ ।’
प्रवक्ता श्रेष्ठको नेतृत्वमा काठमाण्डौबाट हिडेको स्वास्थ्यकर्मी सहित पहिलोदिन जिल्लाको पालुङटार नगरपालिकाको संक्रमित क्षेत्रमा पुगेर लक्षण देखिएका, संक्रमितहरु संग सम्र्पकमा रहेकाहरुको एन्टिजेन परीक्षण गर्नेछ उहाँको भनाई छ । त्यस्तै संक्रमित क्षेत्रका नागरिकहरुलाई आवश्यक परामर्श सहित तत्काल आवश्यक पर्ने आबश्यक औषधी स्वास्थ्य सस्थाहरुलाई हस्तारण गरिने स्वकिय सचिव श्रेष्ठको भनाई छ । प्रवक्ता श्रेष्ठ जिल्ला भित्रका संक्रमण फैलिएको स्थानीय तहमा पुगेर स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड नियन्त्रणका बिषयमा परार्मस समेत गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
केहीदिन अघि मात्र गोरखा आएर जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोरोना रोकथाम र नियन्त्रणमा भएका प्रयास बारे जानकारी लिएर फर्कनु भएका प्रवक्ता श्रेष्ठ फेरि चिकित्सक र औषधी लिएर गृहजिल्ला आउनु भएको हो । गोरखामा संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुनसक्ने भन्दै गोरखा अस्पतालमा निर्माणाधिन अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएपछि आइतबार मात्र अस्पतालमा अक्सिजन प्लान्टको मेसिन समेत जडान भइसकेको छ ।
प्रवक्ता श्रेष्ठ नेतृत्वको टोली सिरानचोक गाउँपालिकाको जौवारी, भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिकाको भच्चेक, सहित लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायतका क्षेत्रमा पुग्ने कार्यक्रम रहेको थियो । टोलीमा डा. राकेश परियार र डा शिशिर देवकोटा, स्वास्थ्यकर्मी खेम सापकोटा लगायत रहनु भएको छ ।